काठमाडौं । चितवनको भरतपुरमा आजदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा विभिन्न राजनीतिक दलका नेताहरू सहभागी हुने भएका छन्। संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई उद्घाटन सत्रमा शुभकामना मन्तव्यका लागि निमन्त्रणा गरिएको रास्वपाले जनाएको छ।
महाधिवेशनमा नेपाली कांग्रेसका सभापति गगन थापा सहभागी हुने भएका छन् भने एमालेबाट प्रदीप ज्ञवाली, माओवादी केन्द्रबाट वर्षमान पुन, जनमत पार्टीका अध्यक्ष सीके राउत, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव तथा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उपस्थित हुनेछन्।
यद्यपि, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने उद्घाटन सत्रमा सहभागी नहुने भएका छन्। महाधिवेशनको उद्घाटन आइतबार हुनेछ भने असार ८ र ९ गते बन्दसत्र तथा निर्वाचन कार्यक्रम तय गरिएको छ।