काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ । भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, विपद् सहयोग, प्रधानमन्त्रीको आसन्न भारत भ्रमण तथा रेलमार्ग सञ्चालनलगायतका विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री शाहले हालै नेपालमा गएको विनाशकारी रसुवा–भोटेकोशी बाढीपछि भारतले ‘फर्स्ट रेस्पोन्डर’का रूपमा राहत सामग्री उपलब्ध गराउनुका साथै उद्धार टोली खटाएर पुर्याएको सहयोगप्रति आभार व्यक्त गरे ।
नेपालले विपद्को सामना गरिरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोनमार्फत सहयोगको ऐक्यबद्धता जनाउनुभएकोमा पनि प्रधानमन्त्री शाहले धन्यवाद व्यक्त गरे । भेटका क्रममा प्रधानमन्त्रीले नेपालको खेलकुद क्षेत्रको विकासका लागि भारतसँग गर्न सकिने सहकार्यबारे समेत चासो राखेका थिए ।
मोदीको सन्देश : प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र
भेटमा भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणलाई सफल बनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तयारी तीव्र पारेको सन्देश सुनाएका थिए । उनले प्रधानमन्त्री शाहको भारत भ्रमण सफल हुने गरी भारतले आवश्यक तयारी गरिरहेको जानकारी गराए ।
अयोध्या–जनकपुर रेलमार्ग सञ्चालनको तयारी पूरा
भारतीय विदेश सचिव मिस्रीले नेपाल–भारतबीच ऊर्जा, जलस्रोत, व्यापार–पारवहन तथा उड्डयनसम्बन्धी द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको जानकारी गराए ।
उनले भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेलमार्ग सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको पनि बताए । उक्त रेलमार्गमा आजै परीक्षण सञ्चालनसमेत गरिएको जानकारी मिस्रीले भेटका क्रममा गराएका थिए ।
प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिस्रीबीचको भेटलाई प्रधानमन्त्रीको आसन्न भारत भ्रमण तथा नेपाल–भारत सहकार्यका विभिन्न क्षेत्रलाई अघि बढाउने सन्दर्भमा महत्वपूर्ण मानिएको छ ।




प्रतिक्रिया