ADVERTISEMENT

त्रिविविका प्रमाणपत्र अब विद्यार्थीका हातहातमै पुर्‍याउँदै हुलाक

त्रिविका शैक्षिक प्रमाणपत्रदेखि कार्यालयका पत्रसम्म घरमै पुर्‍याउने सम्झौता, ट्र्याकिङ प्रणालीमार्फत वितरणलाई व्यवस्थित र सुरक्षित बनाइने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले अब शैक्षिक प्रमाणपत्र लिन विश्वविद्यालयका कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन् । विश्वविद्यालयले जारी गरेका शैक्षिक प्रमाणपत्र विद्यार्थीको हातहातमै पुर्‍याउने गरी त्रिभुवन विश्वविद्यालय र हुलाक सेवा विभागबीच महत्वपूर्ण सम्झौता भएको छ ।

त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारको हुलाक सेवा विभागबीच शैक्षिक प्रमाणपत्रलगायत हुलाक वस्तुको ढुवानी तथा वितरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतासँगै विश्वविद्यालयबाट जारी हुने प्रमाणपत्र विद्यार्थीको फोन नम्बर र पूर्ण ठेगानासहित हुलाकमार्फत सम्बन्धित व्यक्तिको घरमै पुर्‍याउने व्यवस्था कार्यान्वयनमा आउने भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार कार्यालयमा आयोजित कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार डा. रविन्द्र शिवाकोटी र हुलाक सेवा विभागका महानिर्देशक मनमायाँ भट्टराई पंगेनीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

२२ बुँदामा समेटिएको सम्झौताअनुसार त्रिभुवन विश्वविद्यालयका विभिन्न निकायबाट जारी हुने शैक्षिक प्रमाणपत्र तथा कार्यालयका अन्य  पत्रलाई व्यवस्थित रूपमा विद्यार्थी तथा सम्बन्धित सेवाग्राहीसम्म पुर्‍याइनेछ । हुलाक वस्तुको वितरणलाई विश्वसनीय र पारदर्शी बनाउन ट्र्याकिङ बारकोडसहित अन्तर्राष्ट्रिय ट्र्याकिङ प्रणाली (आईटीएस) मा दर्ता गरी सम्बन्धित गन्तव्यसम्म पुर्‍याउने व्यवस्था गरिएको छ ।

‘घरमै सेवा पुर्‍याउने सपना पूरा भयो’ : रजिष्ट्रार शिवाकोटी

सम्झौतापत्रमा हस्ताक्षरपछि त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डा. रविन्द्र शिवाकोटीले विश्वविद्यालयको सेवा घरमै पुर्‍याउने लामो समयदेखिको सपना पूरा भएको भन्दै खुसी व्यक्त  गरे ।

उनले समग्र सेवाप्रवाहलाई हुलाक सेवासँग समन्वय गरी विद्यार्थी तथा सेवाग्राहीको घरमै पुर्‍याउने व्यवस्था हुनु विश्वविद्यालयका लागि महत्वपूर्ण उपलब्धि भएको बताए ।

‘राज्य र नागरिक जोड्ने प्रभावकारी संयन्त्र हुलाक’ : महानिर्देशक पंगेनी

हुलाक सेवा विभागका महानिर्देशक मनमायाँ भट्टराई पंगेनीले हुलाक सेवा नागरिक र राज्यलाई जोड्ने सबैभन्दा प्रभावकारी संयन्त्र भएको उल्लेख गरिन् ।

त्रिभुवन विश्वविद्यालयमार्फत नागरिकको सेवालाई घरघरमा पुर्‍याउने जिम्मेवारी प्राप्त हुनु हुलाक सेवाका लागि महत्वपूर्ण अवसर भएको उनको  भनाइ थियो ।

सम्झौतापत्रमा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक प्रा.डा. लक्ष्मण पौडेल र गोश्वारा हुलाक कार्यालय, डिल्लीबजारका प्रमुख हुलाक अधिकृत ढालबहादुर जिसीले साक्षीका रूपमा हस्ताक्षर गरेका छन् ।

हुलाक सेवामा नवप्रवर्तन, नागरिकको घरदैलोमा सरकारी सेवा

पछिल्लो समय हुलाक सेवा विभागले परम्परागत हुलाक सेवाको दायरालाई विस्तार गर्दै नागरिकको घरदैलोमा सरकारी सेवा पुर्‍याउने नवीनतम पहललाई तीव्रता दिँदै आएको छ ।

त्रिभुवन विश्वविद्यालयसँगको सम्झौता पनि सरकारी सेवाप्रवाहलाई सहज, सरल र नागरिकमैत्री बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

शैक्षिक प्रमाणपत्र प्राप्त गर्न विश्वविद्यालयका कार्यालयमा धाउनुपर्ने बाध्यता हटाउने, समय र खर्च बचत गर्ने तथा सेवाप्रवाहलाई प्रविधिमैत्री बनाउने यस व्यवस्थाले विद्यार्थीलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ ।

राज्यका सेवा नागरिकको घरदैलोमै पुर्‍याउने अवधारणालाई व्यवहारमा उतार्दै हुलाक सेवाले आफ्नो भूमिकालाई थप प्रभावकारी र सशक्त बनाउने प्रयास गरेको छ ।

 

 

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार