ADVERTISEMENT

प्रवासी नेपालीको सीप, पुँजी र अनुभव देश विकासमा जोड्नुपर्छ : भण्डारी

काठमाडौँ । नेकपा एमालेकी वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रवासी नेपालीको समस्या र आवश्यकता बुझेर उनीहरूको ज्ञान, सीप, पुँजी र अनुभवलाई नेपालको विकासमा जोड्नुपर्ने बताएकी छन् ।

बुधबार प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रवासी नेपालीको योगदानलाई विप्रेषणमा मात्र सीमित गरेर हेर्न नहुने बताइन् ।

भण्डारीले विदेशमा आर्जन गरेको ज्ञान, सीप, प्रविधि र अनुभवलाई कृषि, उद्योग, शिक्षा, प्रविधि तथा सेवा क्षेत्रको विकासमा उपयोग गर्नुपर्नेमा जोड दिइन् ।

उनले वैदेशिक रोजगारीमा रहेका नेपालीले भोग्दै आएका श्रम शोषण, न्यून पारिश्रमिक, असुरक्षित कार्यस्थल र ठगीजस्ता समस्या समाधान गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताइन् । श्रमिकको अधिकार, उचित पारिश्रमिक, स्वास्थ्य तथा दुर्घटना बीमा र सामाजिक सुरक्षाको सुनिश्चितता गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै, विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई समयमै उद्धार तथा सुरक्षित स्वदेश फिर्तीको व्यवस्था मिलाउन पनि उनले सरकारको ध्यानाकर्षण गराइन् ।

भण्डारीले प्रवासी नेपालीको लगानी र उद्यमशीलतालाई स्वदेशी निजी क्षेत्रसँग जोडेर रोजगारी सिर्जना, उद्योग स्थापना र प्रविधि हस्तान्तरणमा प्रोत्साहन गर्नुपर्ने बताइन् ।

उनले विदेशमा रहेका नेपाली समुदायलाई नेपालको राजनीतिक घटनाक्रमबारे सही सूचना प्रवाह गर्दै तथ्यपरक बहस निर्माण गर्न पनि आग्रह गरिन् ।

दुई दिनसम्म चल्ने अधिवेशनमा विश्वका ३८ देशबाट ३५० जना प्रतिनिधि सहभागी हुनेछन् । अधिवेशनले प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको नयाँ नेतृत्व चयन गर्नेछ । समापन समारोहलाई एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार