काठमाडौं । नेपालबाट चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा २ अर्ब २० करोड रुपैयाँभन्दा बढीको जुस निर्यात भएको छ।
भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि असोजसम्म नेपालले २ करोड २६ लाख ६९ हजार ५ सय ७५ लिटर विभिन्न प्रकारका जुस निर्यात गरेको हो। यसबाट नेपालले २ अर्ब २० करोड ७९ लाख ७६ हजार रुपैयाँ आम्दानी गरेको छ।
नेपालको जुस निर्यातको मुख्य बजार भारत रहेको छ। यसबाहेक चीन र जापानमा पनि नेपाली जुस निर्यात हुँदै आएको छ।
तथ्यांकअनुसार सबैभन्दा बढी मिक्स जुस निर्यात भएको छ। समीक्षा अवधिमा १ अर्ब ४३ करोड १५ लाख रुपैयाँभन्दा बढीको १ करोड ५७ लाख ५६ हजार लिटर मिक्स जुस निर्यात भएको छ।
त्यस्तै, ३५ करोड ८७ लाख रुपैयाँको सुन्तलाको जुस र २२ करोड १३ लाख रुपैयाँको भुइँकटहरको जुस निर्यात भएको छ। यी दुवै प्रकारका जुस भारतमा मात्रै निर्यात भएका हुन्।
यसैगरी १६ करोड ८५ लाख रुपैयाँको स्याउको जुस, १ करोड ५२ लाख रुपैयाँको ग्रेपफ्रुट जुस र १ करोड २५ लाख रुपैयाँको गोलभेँडाको जुस पनि भारत निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।
यसले नेपाली जुसको अन्तर्राष्ट्रिय बजारमा बढ्दो पहुँच र निर्यात सम्भावनालाई उजागर गरेको छ।




प्रतिक्रिया