काठमाडौं । अनलाइन प्रणालीमा समस्या आएपछि कम्पनी रजिस्ट्रारको कार्यालयबाट हुने नयाँ कम्पनी दर्ता प्रक्रिया प्रभावित भएको छ ।
केही दिनदेखि कम्पनी दर्ताका लागि आवश्यक पर्ने ओटीपी मोबाइलमा नआउँदा सेवाग्राहीको काम रोकिएको हो । सूचना प्रविधि विभागको सर्भरमा आएको खराबीका कारण ओटीपी जेनेरेट हुन नसकेको कम्पनी रजिस्ट्रारको कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी निर्माणकुमार कार्कीका अनुसार अघिल्लो साताको बिहीबारदेखि देखिएको समस्या बीचमा केही समय समाधान भए पनि पुनः दोहोरिएको छ । प्रणाली पूर्णरूपमा बन्द नभए पनि पटक–पटक अवरुद्ध हुँदा कम्पनी दर्ताको काम प्रभावित भइरहेको उनले बताए ।
यता, सूचना प्रविधि विभागका सूचना अधिकारी प्रकाश दवाडीले समस्या समाधानका लागि काम भइरहेको र चाँडै सेवा नियमित हुने बताएका छन् ।
सम्बन्धित खबर




प्रतिक्रिया