ADVERTISEMENT

पूर्वप्रधानमन्त्री माधव नेपाल र कांग्रेस नेता रिजालविरुद्ध भ्रष्टाचार मुद्दा, ९४ जना प्रतिवादी

हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गरी बिक्री गरेको प्रकरणमा ७६ करोड बिगो दाबी, जग्गा जफत प्रयोजनका लागि ५३ जनालाई पनि विपक्षी बनाइयो

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता तथा तत्कालीन मन्त्री मिनेन्द्र रिजालसमेतलाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ। इटहरीस्थित रिजाल टासी इन्डस्ट्रिजको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गरी बिक्री गरिएको प्रकरणमा अख्तियारले नेपाल र रिजालसहित ९४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

विशेष अदालतमा दर्ता गरिएको अभियोगपत्रमा कुल ७६ करोड रुपैयाँ बिगो मागदाबी गरिएको छ। मुद्दामा प्रतिवादी बनाइएका ९४ जनामध्ये ५३ जनालाई भने जग्गा जफत गर्ने प्रयोजनका लागि विपक्षी बनाइएको अख्तियारले जनाएको छ।

अख्तियारको अनुसन्धानअनुसार, इटहरीस्थित रिजाल टासी इन्डस्ट्रिजको हदबन्दीभन्दा बढी रहेको जग्गा सट्टापट्टा गर्न मन्त्रिपरिषद्बाटै निर्णय गराइएको र सोही निर्णयका आधारमा जग्गा बिक्री गरिएको विषय भ्रष्टाचार अनुसन्धानको दायरामा आएको हो।

उक्त प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित तत्कालीन मन्त्री मिनेन्द्र रिजालको संलग्नतालाई अभियोगपत्रमा समेटिएको छ। मन्त्रिपरिषद्को निर्णयमार्फत हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा तथा बिक्री गर्ने प्रक्रिया अघि बढाइएको विषयलाई अख्तियारले भ्रष्टाचारजन्य कसुरका रूपमा व्याख्या गरेको छ।

मुद्दामा तत्कालीन मुख्यसचिव माधव घिमिरेलाई समेत प्रतिवादी बनाइएको छ। उनको निधन भइसकेकाले कानुनी व्यवस्थाअनुसार परिवारका सदस्यलाई विपक्षी बनाइएको छ। त्यसैगरी तत्कालीन भूमिसुधार सचिव तथा पूर्वमन्त्री छबिराज पन्तसहित विभिन्न सरकारी अधिकारी र जग्गा कारोबारमा संलग्न व्यक्तिहरूलाई पनि प्रतिवादी बनाइएको छ।

 

 

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार