काठमाडौं । सरकारको समग्र कार्यसम्पादन प्रभावकारी बनाउन मन्त्रालयहरूको गति बढाउने प्रयासमा प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रीहरू नै फेरबदल गर्ने तयारी गरेका छन्। मन्त्रालयहरूको कार्यसम्पादन अत्यन्तै कमजोर देखिएको र केही मन्त्रीहरू प्रभावकारी भूमिकामा नरहेको विश्लेषणपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेको स्रोतले जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विभिन्न मन्त्रालयको कार्यप्रगति, निर्णय कार्यान्वयनको अवस्था तथा मन्त्रीहरूको सक्रियताबारे अनुगमन गरिरहेको छ। उक्त अनुगमनमा कमजोर देखिएका मन्त्रालयका मन्त्रीहरूलाई हटाउने सम्भावना बढेको प्रधानमन्त्री कार्यालयनिकट स्रोतको दाबी छ।
‘केही मन्त्रालयको कार्यसम्पादन अत्यन्तै कमजोर देखिएको छ। कतिपय मन्त्रीहरू गुमनामजस्तै छन्। मन्त्रालयको कामले सरकारको समग्र कार्यसम्पादनमा समेत असर पारेको विश्लेषण भइरहेको छ,’ प्रधानमन्त्री कार्यालयनिकट स्रोतले प्रशासनपोष्टसँग भन्यो।
स्रोतका अनुसार प्रधानमन्त्रीको सचिवालयले विभिन्न मन्त्रालयको कार्यसम्पादनबारे रिपोर्टिङ गरिरहेको छ। कमजोर देखिएका मन्त्रालय तथा मन्त्रीहरूका विषयमा छुट्टै निगरानी भइरहेको र त्यसकै आधारमा मन्त्रिपरिषद् फेरबदलको तयारी अघि बढाइएको बताइएको छ।
कुन–कुन मन्त्री हट्ने सम्भावना ?
प्रधानमन्त्री कार्यालयको कार्यसम्पादन मूल्यांकन तथा रिपोर्टिङमा कमजोर देखिएका मन्त्रीहरूको सूचीमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेललगायत रहेको स्रोतको दाबी छ।
यसैगरी केही समयअघि मात्रै नियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार शाहको कार्यसम्पादनसमेत प्रभावकारी नभएको विषयमा रिपोर्टिङ भइरहेको बताइएको छ।
यीमध्ये अधिकांश मन्त्रीहरूलाई मन्त्रिपरिषद्बाट हटाउन सकिने स्रोतको दाबी छ। यद्यपि, कसलाई हटाउने र कसलाई निरन्तरता दिने भन्ने विषयमा अन्तिम निर्णय भने प्रधानमन्त्रीकै तहबाट हुने बताइएको छ।
मन्त्री फेरिए सरकारको गति बढ्ला ?
प्रधानमन्त्रीले सरकारको कार्यसम्पादन सुधार गर्न खोजेको भए पनि मन्त्री फेरबदल मात्रै पर्याप्त हुने वा नहुने विषयमा प्रशासनिक वृत्तमा चासो बढेको छ।
मन्त्रालयहरूको कार्यसम्पादन कमजोर हुनुमा मन्त्रीहरूको नेतृत्व र सक्रियता मात्रै नभई सचिवालयको कार्यक्षमता, निर्णय कार्यान्वयन, प्रशासनिक समन्वय तथा नीतिगत स्पष्टतासमेत महत्वपूर्ण मानिन्छ।
त्यसैले मन्त्री फेरबदलसँगै मन्त्रालयहरूको कार्यसम्पादन सुधार गर्ने ठोस योजना, जिम्मेवारीको स्पष्ट निर्धारण र निर्णय कार्यान्वयनमा जवाफदेहिता सुनिश्चित गर्नुपर्ने आवश्यकता देखिन्छ।




प्रतिक्रिया