खानेपानी–सरसफाइ सुधारका लागि एडिबीको ११.५ करोड डलर ऋण
काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) ले नेपालका नगरपालिकामा खानेपानी र सरसफाइ सेवा सुधार गर्न ११ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ।
एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनामार्फत १३ जिल्लाका ८ लाख ५० हजारभन्दा बढी नागरिक लाभान्वित हुने एडिबीले जनाएको छ। परियोजनाले खानेपानीको पहुँच विस्तार गर्नुका साथै ढल तथा फोहरपानी व्यवस्थापनमा सुधार ल्याउने अपेक्षा गरिएको छ।
एडिबीका नेपाल कन्ट्री डाइरेक्टर आर्नो कोश्वाले तीव्र सहरीकरणका कारण बढ्दो दबाबलाई सम्बोधन गर्दै परियोजनाले खानेपानी र सरसफाइ सेवामा पहुँच बढाउन मद्दत गर्ने बताउनुभयो।