काठमाडौं । नेपाली कांग्रेसकी सांसद बासना थापा ले पूर्वाधार विकास मन्त्री सुनिल लम्साल ले काममा ढिलाइ गर्ने निर्माण व्यवसायीको ‘खुट्टा भाँचिदिने’ भन्ने अभिव्यक्ति कानुनी शासनविपरीत भएको बताएकी छन्।
प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले काम नगर्ने निर्माण व्यवसायीलाई कानुनी प्रक्रियाअनुसार कारबाही गर्नुपर्ने, आवश्यक परे कालोसूचीमा राख्नुपर्ने वा अन्य कानुनी उपाय अपनाउनुपर्ने धारणा राखिन्। भौतिक कारबाहीको भाषा स्वीकार्य नहुने उनको भनाइ थियो।
सांसद थापाले मन्त्रीको अनुपस्थितिमा समिति बैठक सञ्चालन गरिएकोप्रति असन्तुष्टि जनाउँदै मन्त्री उपस्थित भएर मात्रै यस्ता विषयमा छलफल हुनुपर्ने बताइन्। साथै उनले कर्णाली प्रदेशका सडक आयोजनामा देखिएका समस्या, सडक स्वीकृति तथा मूल्यांकन प्रक्रियामा भएको ढिलाइबारे पनि ध्यानाकर्षण गराएकी छन्।