काठमाडौं । बैंकको ब्याजदर घट्दो, विदेशी मुद्रा सञ्चिति उच्च र अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक देखिए पनि सेयर बजार भने लगातार दबाबमा परेको छ। रास्वपाको नेतृत्वमा सरकार गठनपछि चैत १२ गते २९५० बिन्दुसम्म पुगेको नेप्से हाल घटेर २७११ बिन्दुमा झरेको छ।
बजारमा पर्याप्त तरलता हुँदा पनि लगानीकर्ताको मनोबल कमजोर बनेको देखिन्छ। सम्पत्ति छानबिन, धितोपत्र बोर्डमा नेतृत्व अभाव, ठूला लगानीकर्तामाथि अनुसन्धान तथा मौद्रिक नीतिको प्रतीक्षाजस्ता कारणले लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा रहेको विश्लेषकहरूको भनाइ छ।
यस अवधिमा बजार पुँजीकरण ५० खर्ब ९ अर्ब रुपैयाँबाट घटेर ४६ खर्ब ३३ अर्ब रुपैयाँमा पुगेको छ, जसअनुसार लगानीकर्ताले करिब ४ खर्ब रुपैयाँ बराबरको सम्पत्ति गुमाएका छन्। यद्यपि, सेयर धितो कर्जा भने बढ्दै गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
२०८३ असार २, मंगलवार १९:५६ प्रकाशित

