काठमाडौँ । नेकपा एमालेका अध्यक्ष के. पी. शर्मा ओलीले पार्टीमा विधि र पद्धति कमजोर हुनुमा आफ्नो मात्र जिम्मेवारी नरहेको बताएका छन्। शनिबार गुण्डुस्थित निवासमा बागमती प्रदेशका तथा केही केन्द्रीय नेताहरूसँगको छलफलमा उनले पार्टीको संकट समाधान सामूहिक रूपमा गर्नुपर्ने धारणा राख्दै केही नेताहरूले आफूलाई मात्र दोषी देखाउन खोजेको भन्दै असन्तुष्टि जनाए।
ओलीले पार्टी पुनर्गठनका नाममा संगठनलाई अस्थिर बनाउन नहुने बताउँदै कमजोरीको जिम्मेवारी सबै नेतृत्व तहले लिनुपर्ने उल्लेख गरे। उनले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललगायत नेताहरू पनि विगतका निर्णय र कार्यशैलीका जिम्मेवार रहेको संकेत गरे।
यसैबीच, बागमती प्रदेश भेलामा केही नेताहरूले नेतृत्व परिवर्तन, पुनर्संरचना र पुनर्गठनको आवश्यकता औँल्याउँदै वर्तमान अवस्थामा पार्टी अघि बढ्न नसक्ने धारणा व्यक्त गरेका थिए।