काठमाडौं । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता (हर्क साम्पाङ) ले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति असहमति जनाउँदै त्यसलाई राष्ट्रहितविपरीत र तथ्यहीन बताएका छन्।
बुधबार जारी विज्ञप्तिमा उनले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमानभन्दा ठूलो कुनै विषय हुन नसक्ने उल्लेख गर्दै दशकौँदेखि नेपालको सीमा भारतद्वारा अतिक्रमण हुँदै आएको दाबी गरे। प्रधानमन्त्रीले “नेपालले पनि धेरै ठाउँमा भारतको सीमा मिचेको छ” भन्ने अभिव्यक्ति दिएको भन्दै उनले उक्त भनाइ सच्याउन माग गरेका छन् ।
साम्पाङले यस विषयमा संसद्मा पनि विरोध जनाएको स्मरण गराउँदै परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्टीकरण दिन खोज्दा आफ्नो दलले असहमति जनाएको बताए। उनले यस घटनाले लोकतान्त्रिक संसदीय अभ्यासमा नकारात्मक प्रभाव परेको टिप्पणी गर्दै यसको भर्त्सना गरेका छन्।
संसद्को मर्यादा र गरिमा दिनप्रतिदिन खस्किँदै गएको दाबी गर्दै उनले त्यसका लागि सभामुखको कमजोरी प्रमुख कारण रहेको आरोप पनि लगाएका छन्।

