“सङ्ख्या होइन, संसद्को मुद्दा शक्तिशाली हुन्छ” : भीष्मराज आङ्देम्बे
काठमाडौँ । नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले संसद्मा पार्टीको सङ्ख्याभन्दा त्यहाँ उठाइने मुद्दा र विचार महत्वपूर्ण हुने बताएका छन्।
ललितपुरमा आयोजित नेपाल थारु सङ्घको अधिवेशनलाई सम्बोधन गर्दै उनले सङ्ख्याको बलमा मात्र लोकतन्त्र सञ्चालन हुन नसक्ने उल्लेख गरे। उनले कांग्रेसले जनसरोकारका मुद्दा उठाउँदै संसदीय मर्यादा र लोकतान्त्रिक अभ्यासको संरक्षणमा प्रभावकारी भूमिका खेल्ने बताए।
आङ्देम्बेले विगतमा पार्टी र संसद्लाई अलग–अलग रूपमा हेर्दा कांग्रेस कमजोर बनेको टिप्पणी गर्दै अहिले दुवैलाई एउटै सोच र ट्र्याकमा अघि बढाउने प्रयास भइरहेको दाबी गरे।
उनले सत्ता गठबन्धनका क्रममा कांग्रेसले आफ्नै मौलिक पहिचान केही हदसम्म गुमाएको स्वीकार गर्दै अब पार्टीको मूल चरित्र र पहिचान पुनःस्थापित गर्नुपर्नेमा जोड दिए। साथै, सबै नेता–कार्यकर्तालाई संगठन सुदृढीकरणमा सक्रिय हुन आह्वान गरे।