काठमाडौँ । काठमाडौँमा गणतन्त्र दिवस २०८३ का अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकतन्त्रलाई अझ जीवन्त, सुदृढ र प्रभावकारी बनाउन समावेशिता, समानता, न्याय र उदारवादी मूल्यलाई मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्। उनले गणतन्त्रलाई जनताको शासन प्रणाली भन्दै सम्पूर्ण शक्ति जनतामा निहित रहने उल्लेख गरे।
उपराष्ट्रपति यादवले जननिर्वाचित प्रतिनिधिहरूले जनताप्रति उत्तरदायी भएर संविधानले दिएको अधिकार र कर्तव्यलाई समान रूपमा आत्मसात् गर्न सके मात्र संघीय लोकतान्त्रिक गणतन्त्र सबल बन्ने बताए। उनले गणतन्त्र दिवसलाई उत्सव मात्र नभई आत्ममूल्याङ्कन गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिए।
उनले वञ्चित, उत्पीडित र उपेक्षित समुदायको सक्रिय सहभागिताबिना गणतन्त्र बलियो नहुने उल्लेख गर्दै यो व्यवस्था जनआन्दोलन, सशस्त्र संघर्ष र मधेस आन्दोलनलगायत ऐतिहासिक संघर्षको परिणाम भएको स्मरण गरे। साथै उनले सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्र, संघीयता र गणतन्त्रका उपलब्धिहरूको रक्षा गर्न सबैलाई आग्रह गरे।


