गणतन्त्रको सुदृढीकरणबाट मात्र समृद्ध नेपाल सम्भव : कांग्रेस सभापति थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गणतन्त्र दिवसको अवसरमा जारी गरेको शुभकामना सन्देशमा नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण तथा सुदृढीकरणमा जोड दिएका छन्।
उनले २०६२–६३ को जनआन्दोलनपछि भएको ऐतिहासिक परिवर्तन र २०६५ जेठ १५ मा नेपाललाई गणतन्त्र घोषणा गरिएको प्रसंग स्मरण गर्दै यो उपलब्धि जनताको त्याग र बलिदानको परिणाम भएको उल्लेख गरेका छन्।
थापाले लोकतान्त्रिक मूल्य, न्यायपूर्ण समाज र समावेशी विकासलाई मजबुत बनाउँदै देशलाई समृद्ध बनाउन सबैको जिम्मेवारी आवश्यक रहेको बताएका छन्। साथै, गणतन्त्र दिवसले मुलुकलाई अघि बढ्न नयाँ प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।