गणतन्त्र दिवसमा दाहालको सन्देश: सुशासन र समृद्धि आवश्यक
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै सुशासन, समृद्धि र संविधानको प्रभावकारी कार्यान्वयन अहिलेको मुख्य आवश्यकता भएको बताएका छन्।
उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको लामो संघर्ष, बलिदान र लोकतान्त्रिक आन्दोलनको उपलब्धि भएको उल्लेख गरे। दाहालले गणतन्त्र केवल शासन प्रणाली परिवर्तन मात्र नभई नागरिक अधिकार, सामाजिक न्याय, समावेशिता र समान अवसरमा आधारित राज्य व्यवस्था भएको बताए।
उनले संविधानले परिकल्पना गरेको समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिए। साथै, गणतन्त्र स्थापनाका क्रममा जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा पीडितप्रति सम्मान प्रकट गरेका छन्।