काठमाडौ ।
काठमाडौँ उपत्यकामा सरकारी निकायबीच समन्वय अभाव हुँदा खानेपानी पाइपलाइनमा ६ करोड ५९ लाख ६८ हजार रुपैयाँ बराबरको क्षति भएको पाइएको छ ।
महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनअनुसार सडक, विद्युत् तथा अन्य निर्माण कार्यका क्रममा पाइपलाइनमा क्षति पुगेको हो ।
प्रतिवेदनमा नेपाल विद्युत् प्राधिकरणबाट १ करोड ६७ लाख ५७ हजार, सडक विभागबाट २ करोड ८० हजार, ललितपुर महानगरपालिकाबाट १ करोड १२ लाख ७३ हजार तथा अन्य निकायबाट १ करोड ७१ लाख ३८ हजार रुपैयाँ बराबरको क्षति भएको उल्लेख छ ।
क्षतिपूर्ति रकम असुल हुन नसकेको भन्दै महालेखाले प्रश्न उठाएको छ ।यस्तै, कोड्कु, सल्लाघारी र धोबिघाटमा फोहोर पानी प्रशोधन केन्द्र निर्माणमा ढिलाइ भएपछि पुरानो ठेक्का तोडेर नयाँ ठेक्का गरिएको विषयमा पनि महालेखाले चासो देखाएको छ ।
कार्यसम्पादन जमानत र पेश्कीबापत २ अर्ब ५९ करोड ९९ लाख रुपैयाँ असुल गर्नुपर्ने निर्णय भए पनि रकम उठ्न सकेको छैन ।


