संसद्प्रति सरकार गैरजवाफदेही : हर्क साम्पाङ


काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले सरकार संसद्प्रति जवाफदेही नभएको आरोप लगाएका छन् ।

आज जारी प्रेस विज्ञप्तिमार्फत उनले प्रधानमन्त्रीसहित मन्त्रीहरू संसद्मा अनुपस्थित रहने र सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिने कार्यले संसदीय मर्यादा उल्लंघन भएको बताएका हुन् ।

राईले प्रतिनिधिसभा सञ्चालन नियमावली २०७९ विपरीत सरकार चलेको दाबी गर्दै संसद् जनताका प्रश्न उठाउने थलो भएकाले प्रश्न सोध्न रोक्नु आपत्तिजनक भएको उल्लेख गरेका छन् ।

उनले आफूले गत वैशाख २८ र २९ गते उठाएका प्रश्नको समेत सरकारले उत्तर नदिएको भन्दै यस घटनालाई लोकतान्त्रिक अभ्यासमाथिको कालो धब्बा भएको बताएका छन् । सभामुखको भूमिकाप्रति पनि असन्तुष्टि जनाउँदै उनले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन नसक्नु निन्दनीय भएको टिप्पणी गरेका छन् ।

२०८३ जेष्ठ ७, बिहीबार १०:३२ प्रकाशित
ट्रेन्डिङ समाचार