३० अंकले उकालो लाग्यो सेयर बजार, कारोबार रकम पनि बढ्यो


काठमाडौं । अघिल्लो कारोबार दिन सामान्य गिरावट आएको सेयर बजार बुधबार भने उल्लेख्य सुधारसहित बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.०८ अंकले बढेर २७५४ विन्दुमा पुगेको हो । यो वृद्धि १.१० प्रतिशत बराबर हो । बुधबार कायम भएको उक्त अंक नै दिनभरकै उच्च बिन्दु समेत रह्यो ।

बजारसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । मंगलबार ३ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार कारोबार रकम बढेर ३ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । बजार खुलेदेखि अन्तिम कारोबारसम्मै सकारात्मक लय कायम रह्यो ।

आज कारोबार भएका कम्पनीमध्ये २४८ कम्पनीको सेयर मूल्य बढ्दा २१ कम्पनीको घटेको छ । एनएलजी इन्स्योरेन्सको सेयर मूल्य भने स्थिर रह्यो ।

सबै उपसूचक हरियालीमा बन्द भएका छन् । हाइड्रोपावर तथा होटल–पर्यटन समूह सर्वाधिक १.८९ प्रतिशतले बढे । यस्तै बैंकिङ ०.७३, विकास बैंक ०.४४, फाइनान्स १.४०, लगानी १.१५, जीवन बीमा ०.९७, उत्पादन तथा प्रशोधन १.१५, माइक्रोफाइनान्स ०.६२, निर्जीवन बीमा ०.४४, अन्य १.०९ तथा व्यापार समूह १.५१ प्रतिशतले उकालो लागे ।

व्यक्तिगत कम्पनीतर्फ अपर लोहोरेखोला जलविद्युतको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढ्यो । माउन्टेन हाइड्रो नेपाल ११.८८ प्रतिशत, बुंगल हाइड्रो ७.५१ प्रतिशत, शिखर पावर ६.१२ प्रतिशत तथा सिटी होटल ५.९० प्रतिशतले बढेका छन् ।

यता कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै १३.२६ प्रतिशतले घटेको छ । बोटलर्स नेपाल बालाजु ३ प्रतिशत तथा कुथेली बुखरी हाइड्रोपावर २.०७ प्रतिशतले ओरालो लागे ।

कारोबार रकमका आधारमा कर्पोरेट डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत्, अपी पावर, रिडी पावर र नेसनल हाइड्रोपावर शीर्ष पाँचमा रहे ।

२०८३ जेष्ठ ६, बुधबार १५:४३ प्रकाशित
ट्रेन्डिङ समाचार