सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध : सञ्चारमन्त्री तिमिल्सिना


काठमाडाैं ।  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताको संरक्षण र प्रवर्द्धनप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।

बुधवार प्रतिनिधिसभा बैठकको आकस्मिक, शून्य तथा विशेष समयमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रता संविधानले प्रत्याभूत गरेको मौलिक अधिकार भएकाले यसलाई कसैले पनि हनन गर्न नसक्ने स्पष्ट पार्नुभयो।

उहाँले प्रेस स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थाको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै त्यससँगै पत्रकारितामा जिम्मेवारी र जवाफदेहितासमेत जोडिएको बताउनुभयो। पत्रकारहरूले आफ्नो पेशागत मर्यादा, संवैधानिक अधिकार र कानुनी सीमाभित्र रहेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रतालाई स्वच्छन्दतासँग तुलना गर्न नहुने उल्लेख गर्दै पत्रकारितामा आचारसंहिता, अनुशासन र उत्तरदायित्वको पनि उत्तिकै महत्व रहेको धारणा राख्नुभयो। राज्यले सञ्चार क्षेत्रलाई लोकतन्त्रको महत्वपूर्ण अंगका रूपमा स्वीकार गरेको भन्दै उहाँले पत्रकारहरूले आफ्नो गरिमा र विश्वसनीयता कायम राख्दै काम गरे सरकारबाट कुनै अवरोध नहुने बताउनुभयो।

उहाँले पत्रकारहरूलाई ढुक्क भएर संविधान र कानूनले दिएको अधिकार प्रयोग गर्न आग्रह गर्दै पेशागत मर्यादा र सीमालाई ध्यानमा राखेर जिम्मेवार पत्रकारिता गर्न अनुरोध गर्नुभयो।

त्यस अवसरमा मन्त्री तिमिल्सिनाले सांसदहरूले दिएका सुझावलाई सरकारले गम्भीर रूपमा ग्रहण गर्ने र ती सुझावलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

२०८३ जेष्ठ ६, बुधबार १४:५८ प्रकाशित
ट्रेन्डिङ समाचार