सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरसंवैधानिक : पूर्व पदाधिकारी


काठमाडौं ।

राष्ट्रिय भूमि आयोगका पूर्व पदाधिकारीहरुले सरकारले सेनाको आडमा सुकुम्बासी बस्तीमा डोजर चलाएर समस्या झन् जटिल बनाएको आरोप लगाएका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनीहरुले भूमिहीन तथा सुकुम्बासीलाई लालपूर्जा वितरणको प्रक्रिया अन्तिम चरणमा पुगेका बेला बस्ती भत्काउनु गैरजिम्मेवार कदम भएको बताएका हुन् ।

पूर्व अध्यक्ष केशव निरौलाले सुकुम्बासीको आवास अधिकारविरुद्ध सरकारले कदम चालेको आरोप लगाए । उनले आफू अध्यक्ष हुँदा ३ लाखभन्दा बढीलाई लालपूर्जा वितरणको तयारी गरिएको दाबी गरे ।

पूर्व अध्यक्ष हरि रिजालले विकल्प र पूर्वसूचना बिना बस्तीमा डोजर लगाउनु अमानवीय भएको बताए । उनले भूमि आयोगमार्फत हजारौं परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको जानकारी दिए ।

पूर्व उपाध्यक्ष नहेन्द्र खड्काले सर्वोच्च अदालतको अन्तरिम आदेशसमेत उल्लंघन गर्दै बस्ती हटाउने प्रयास भइरहेको आरोप लगाए । उनले विभिन्न दल मिलेर सरकारको कदमविरुद्ध संयुक्त प्रतिवाद गर्ने तयारी भइरहेको बताए ।

२०८३ जेष्ठ १, शुक्रबार १९:१२ प्रकाशित
ट्रेन्डिङ समाचार