ADVERTISEMENT

कुलेखानी जलाशय भरिन लागेपछि भीमफेदी–कुलेखानी सडक बन्द

हेटौँडा । कुलेखानी जलाशयमा पानीको सतह बढ्दै गएपछि सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै भीमफेदी–देउराली–कुलेखानी सडकखण्ड १२ घण्टाका लागि बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोकेको छ।

लगातारको वर्षाका कारण जलाशयको सतह अधिकतम क्षमतानजिक पुगेको र थप वर्षा भए बाँधका ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने प्रशासनले जनाएको छ।

बाँध खोलिए सिस्नेरी खोला र बागमती नदीको तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्न सक्ने भएकाले प्रशासनले स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ। साथै, नदी किनारमा नजान र सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार