बारा । बाराको फेटा स्वास्थ्य चौकी घटनापछि मुख्य भवनभित्र थुनिएका इन्स्पेक्टरसहित करिब ३८ जना सरकारी कर्मचारीको सकुशल उद्धार गरिएको छ।
स्थानीय युवक आदित्य पासवानलाई गोली लागेपछि तनावग्रस्त बनेको अवस्थाका कारण स्वास्थ्य चौकीको मुख्य भवनमा रहेका कर्मचारीहरू थुनिएका थिए।
जिल्ला प्रशासन कार्यालय बाराका अनुसार साढे १० बजेदेखि थुनिएका उनीहरूलाई झन्डै दुई घण्टापछि सकुशल उद्धार गरिएको हो।
शनिबार बिहान फेटा गाउँपालिका–३ मा आधारभूत अस्पताल उद्घाटन गर्ने क्रममा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी र विपक्षी समूहबीच विवाद भएको थियो। विवादले उग्ररूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार घटनापछि स्वास्थ्य चौकीको मुख्य भवनमा रहेका इन्स्पेक्टरसहित निजामती कर्मचारीहरू असुरक्षित अवस्थामा घेरिएका थिए। पछि सबैलाई सकुशल बाहिर निकालिएको हो।




प्रतिक्रिया