ADVERTISEMENT

तिहारका लागि तीन महिनामै अर्बौँको ड्राइफ्रुट्स आयात

काठमाडौँ । तिहार तथा भाइटीकालाई लक्षित गर्दै चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले अर्बौँ रुपैयाँ बराबरका ड्राइफ्रुट्स तथा नट्स आयात गरेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि असोज मसान्तसम्म नेपालमा करिब ३ अर्ब रुपैयाँ बराबरका विभिन्न प्रकारका ड्राइफ्रुट्स आयात भएका छन् । आयातित सामग्रीमा काजु, बदाम, किसमिस, ओखर, नरिवल, सुपारी, पेस्ता, अन्जिर र खजुरलगायत छन् ।

तीन महिनामा मात्रै ८४ करोड ७७ लाख रुपैयाँभन्दा बढीको सुपारी, ६५ करोड ४० लाख रुपैयाँको ओखर, ४६ करोड ५६ लाख रुपैयाँको काजु र ४७ करोड ६८ लाख रुपैयाँको बदाम आयात भएको छ । सुपारी मुख्यतः इन्डोनेसिया र थाइल्याण्डबाट, काजु भारत र भियतनामबाट तथा बदाम अमेरिकाबाट आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै, चीन र भारतबाट २७ करोड ६३ लाख रुपैयाँभन्दा बढीको किसमिस तथा भारतबाट ठूलो परिमाणमा नरिवल आयात भएको छ ।

भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीकासँगै भाइमसला दिने परम्पराका कारण चाडपर्वको समयमा यस्ता सामग्रीको माग बढ्ने गरेको छ ।

नेपालमा ड्राइफ्रुट्स तथा नट्सको व्यावसायिक उत्पादन न्यून रहेकाले तिहारजस्ता प्रमुख चाडपर्वमा समेत अधिकांश सामग्रीका लागि विदेशी बजारमा निर्भर हुनुपरेको छ । यसले हरेक वर्ष ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिने गरेको देखाउँछ ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार