काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश हरिप्रसाद फुयाँलको नाम जोडिएर सार्वजनिक भएको विवादबारे सर्वोच्च अदालतभित्रैबाट आन्तरिक छानबिन गर्नुपर्ने माग उठेको छ ।
आज बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) मा सहभागी अधिकांश न्यायाधीशले न्यायालयको गरिमा जोगाउन निष्पक्ष छानबिन समिति गठन गर्नुपर्ने धारणा राखेका हुन् ।
बैठकमा न्यायाधीश हरिप्रसाद फुयाँलले ‘इनम’सँग भएको ह्वाट्सएप संवादबारे स्पष्टीकरण दिँदै कुनै पनि न्यायिक विचलन हुने काम नगरेको दाबी गरेका थिए । उनले घटनाको सत्यतथ्य बाहिर ल्याउन अदालतभित्रैबाट निष्पक्ष छानबिन हुनुपर्ने मागसमेत राखेका थिए ।
बैठकमा अन्य न्यायाधीशहरूले पनि न्यायालयमाथि उठेका प्रश्नको निष्पक्ष निरूपण हुनुपर्नेमा जोड दिएका थिए ।
यस विषयमा थप छलफल र आवश्यक निर्णयका लागि आउँदो सोमबार पुनः फुलकोर्ट बैठक बस्ने सहमति भएको छ ।




प्रतिक्रिया