काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको राजीनामाको चर्चाबीच प्रहरी प्रधान कार्यालयमा बसेको पीसीसी (पोलिसी कोअर्डिनेसन कमिटी) बैठकमा संगठनमाथि भइरहेका प्रहारको एकजुट भएर सामना गर्ने विषयमा छलफल भएको छ।
बिहीबार दिउँसो सवा २ बजेदेखि साँझ पौने ८ बजेसम्म करिब साढे ६ घण्टा चलेको बैठकमा प्रहरी संगठनभित्रको अनुशासनहीनता, नेतृत्वविरुद्ध भइरहेका मिडिया ट्रायल र आईजीपीमाथि राजीनामाको दबाब परेको चर्चाबारे छलफल भएको थियो।
बैठकमा संगठनको पक्षमा एकजुट हुने सहमति भए पनि व्यक्तिविरुद्ध लागेका आरोपको प्रतिवाद सम्बन्धित व्यक्तिले नै गर्नुपर्ने धारणा एक वरिष्ठ अधिकारीले राखेका थिए।
सरकार र आईजीपी कार्कीबीच सम्बन्ध राम्रो नरहेको तथा राजीनामाका लागि दबाब दिइएको चर्चाबीच प्रधानमन्त्रीलाई सामूहिक रूपमा भेट्न जाने विषयमा समेत छलफल भएको स्रोतले जनाएको छ।
यसपटकको बैठकमा पहिलोपटक सातै प्रदेशका प्रहरी प्रमुख तथा डीआईजीहरूलाई समेत काठमाडौं बोलाइएको थियो। बैठकमा उपत्यकामा कार्यरत एसएसपी, डीआईजी र एआईजीहरू पनि सहभागी थिए।




प्रतिक्रिया