काठमाडौं । भुटानमा गएराति आएको आकस्मिक बाढीले गासा र पुनाखा जिल्लामा ठूलो क्षति पुर्याएको छ । बाढीले सडक तथा भौतिक संरचना बगाएपछि सिन्ताफु हिमताल विस्फोट भएको आशंका गरिएको छ ।
बाढीले गासा जिल्लाको छाचु क्षेत्र पूर्ण रूपमा प्रभावित बनाएको छ भने पुनाखा–गासा राजमार्गको जोमलिङथाङ खण्डमा सडक बगाएको छ । सडक अवरुद्ध भएपछि लाया क्षेत्र अन्य भागसँगको सडक सम्पर्कबाट विच्छेद भएको भुटान ब्रोडकास्टिङ सर्भिस (बीबीएस)ले जनाएको छ ।
मो छू नदीमा आएको बाढी सिन्ताफु हिमताल विस्फोटका कारण आएको हुन सक्ने अनुमान गरिएको छ । उक्त हिमताल भुटानका १७ जोखिमयुक्त हिमतालमध्ये एक हो । तर, ताल विस्फोट भएको आधिकारिक पुष्टि भएको छैन ।
बाढीको जोखिम बढेपछि प्रभावित क्षेत्रका स्थानीय, सुरक्षाकर्मी, कर्मचारी तथा पर्यटकलाई सुरक्षित स्थानमा सारिएको छ । नदीको जलस्तर निगरानी गर्न थालिएको छ भने सम्भावित जोखिमलाई ध्यानमा राख्दै साइरन प्रणालीसमेत सक्रिय पारिएको छ ।
बाढीबाट हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन । रातिको समयमा बाढी आएकाले क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको अधिकारीहरूले जनाएका छन् ।




प्रतिक्रिया