विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले आठ राउन्ड गोली चलाएको छ। प्रहरीको गोली लागेर दुई भारतीय नागरिक घाइते भएका छन् भने तीन जना पक्राउ परेका छन्।
रतुवामाई नगरपालिका–६ शनिश्चरेमा राति करिब ९ः३० बजे प्रहरीले शंकास्पद अवस्थामा रहेका दुई मोटरसाइकलमा सवार तीन जनालाई नियन्त्रणमा लिन खोजेको थियो। तर उनीहरू भाग्न खोजेपछि प्रहरीले गोली चलाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले बताए।
गोली लागेर भारतका २२ वर्षीय दीपककुमार बोसाक र ४० वर्षीय पुरन बोसाक घाइते भएका छन्। उनीहरूको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ।
प्रहरीले उनीहरूको साथबाट करिब ५०० ग्राम ब्राउन सुगर, एक थान घरेलु पेस्तोल, एक राउन्ड गोली र मोटरसाइकल बरामद गरेको छ। पक्राउ पर्नेमा मोरङका ३५ वर्षीय प्रमोद ठाकुर पनि छन्।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया