ADVERTISEMENT

विराटनगर दुग्ध आयोजनाको बक्यौता घटेर ३ करोडमा झर्‍यो

काठमाडौं । विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वी क्षेत्रका दुग्ध किसानलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम घटेर करिब ३ करोड रुपैयाँमा झरेको जनाएको छ।

कुनै समय किसानको दूधको बक्यौता ३५ करोड रुपैयाँसम्म पुगेकोमा दूध तथा दुग्धजन्य पदार्थको बिक्री बढेसँगै बक्यौता घटेको हो। आयोजनाले प्रत्येक १५ दिनमा किसानलाई किस्ताबापतको रकम भुक्तानी गर्दै आएको छ।

आयोजनाका निमित्त प्रमुख नवीनकिशोर शर्माका अनुसार हाल साउन र भदौ महिनाको किस्ता तथा बाँकी रनिङ बिल भुक्तानी गर्नुपर्ने अवस्था छ। पछिल्लो समय दूध तथा दुग्धजन्य पदार्थको बिक्री ५० प्रतिशतसम्म बढेको र घिउको मौज्दात ५ मेट्रिक टनमा सीमित रहेको उनले जानकारी दिए।

आयोजनाले पूर्वी क्षेत्रका किसानबाट दैनिक करिब १० हजार ५०० लिटर दूध संकलन गर्दै आएको छ। त्यसमध्ये दैनिक करिब ५ हजार लिटर बराबरको दूध तथा दुग्धजन्य पदार्थ बिक्री भइरहेको छ।

आगामी कात्तिक महिनादेखि दूध संकलन बढेर दैनिक १५ हजार लिटरसम्म पुग्ने आयोजनाको अनुमान छ। दैनिक खपतभन्दा बढी हुने करिब १० हजार लिटर दूधबाट धुलो दूध उत्पादन गर्ने तयारीसमेत भइरहेको आयोजनाले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार