ADVERTISEMENT

फोहोरमैला व्यवस्थापन विधेयकमा २१ सांसदका २१२ संशोधन प्रस्ताब

काठमाडौं । फोहोरमैला व्यवस्थापन विधेयकमाथि २१ जना सांसदले २१२ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले २०८३ असोज १ गते प्रतिनिधिसभामा दर्ता गराएको विधेयकमाथि सांसदहरूले विभिन्न संशोधन प्रस्ताव राखेका हुन् ।

 

विधेयकले फोहोरलाई अन्तिम विसर्जन गर्नुपर्ने वस्तुका रूपमा नभई पुनःप्रयोग गर्न सकिने स्रोतका रूपमा व्याख्या गरेको छ । यसमा जैविक फोहोरबाट मल, फोहोरबाट ऊर्जा तथा इन्धन उत्पादन, पुनःप्रयोग र पुनर्चक्रणका लागि बजार निर्माण, फोहोर बैंक तथा निजी क्षेत्रको सहभागितालगायतका व्यवस्था समेटिएका छन् ।

 

विधेयकमा चक्रीय अर्थतन्त्रको अवधारणालाई प्राथमिकता दिँदै फोहोर प्रशोधनमार्फत कच्चा पदार्थ, मल, ग्यास, ऊर्जा तथा अन्य उपयोगी वस्तु उत्पादन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

 

विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने सांसदहरूमा बलावती शर्मा, परशुराम तामाङ, डा. राम लामा, डा. ओजश्वी शेरचन, भरतप्रसाद पराजुली, गुरु प्रसाद बराल, ऐनबहादुर महर, रन्जु न्यौपाने, गणेशबहादुर विश्वकर्मा, लिमा अधिकारी (आचार्य), क्रान्तिशिखा धिताल, डा. तोसिमा कार्की, कुसुम महर्जन, मनिष झा, निशा डाँगी, नितिमा भण्डारी (कार्की), सुशील खड्का, आशिष गजुरेल, धर्मराज केसी, बोध नारायण श्रेष्ठ, कमल सुबेदी र रुविना आचार्य रहेका छन् ।

 

मन्त्री लम्सालका अनुसार विधेयकको मुख्य उद्देश्य फोहोरमैला उत्सर्जन, संकलन, विसर्जन तथा व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहको भूमिका र जिम्मेवारी स्पष्ट गर्नु हो । साथै, तीनै तहका सरकारबीच समन्वय कायम गरी फोहोरको प्रभावकारी व्यवस्थापनमार्फत स्वच्छ तथा स्वस्थ वातावरण निर्माण गर्नु विधेयकको लक्ष्य रहेको छ ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार