ADVERTISEMENT

विपद् व्यवस्थापनमा दोहोरो कमाण्ड हटाउन सेनाको सुझाव

काठमाडौं । नेपाली सेनाले विपद् व्यवस्थापनमा सरकारी निकायबीच देखिएको अधिकारको दोहोरोपन हटाई एकीकृत कमाण्ड प्रणाली लागू गर्न सुझाव दिएको छ।

शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको संसदीय विशेष समितिमा ब्रिफिङ गर्दै सहायक रथी सुवासजंग थापाले विपद्का बेला गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) तथा प्रदेश र स्थानीय तहका निकायबीच समन्वयको अभाव देखिएको बताए।

उनले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन स्पष्ट र छरितो कमाण्ड प्रणाली आवश्यक रहेको औँल्याए।

सेनाका अनुसार गोरखाको सिरिङ्गे हिमालमा हिमपहिरो खस्दा स्यार खोलामा आएको भीषण बाढीबाट ६ जना सम्पर्कविहीन भएका थिए भने ६ वटा पुल र सडक सञ्जालमा ठूलो क्षति पुगेको थियो।

उक्त विपद्मा सेनाले ६ दिनसम्म उद्धार अभियान सञ्चालन गरी एक हजार २५ जनाको उद्धार गरेको र १३ हजार ९३० किलोग्राम राहत सामग्री ढुवानी गरेको थियो।

सेनाले पुनर्निर्माण तथा पुनःस्थापनाको नेतृत्व जिल्ला विपद् व्यवस्थापन समितिले गर्ने र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुगमन गर्ने व्यवस्था गर्न पनि सुझाव दिएको छ।

त्यस्तै, जोखिममा रहेका हिमताल तथा हिमपहिरोबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली घरधुरी तहसम्म पुर्‍याउन र दक्ष उद्धार जनशक्ति तथा आवश्यक उपकरण तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार