काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र रामाडा इन्कोर काठमाडौं, होटल हिमालयन होराइजन तथा पान्स बाइक प्रा. लि. बीच बैंकका ग्राहकलाई विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौताअनुसार सिटिजन्स बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकले सम्बन्धित संस्थाका वस्तु तथा सेवामा विशेष छुट प्राप्त गर्नेछन्।
बैंकका ग्राहकले रामाडा इन्कोर काठमाडौंमा खाना, पेय पदार्थ तथा स्पा सुविधामा १५ प्रतिशत, होटल हिमालयन होराइजनमा डेबिट कार्डमार्फत भुक्तानी गर्दा खाना तथा पेय पदार्थमा १० प्रतिशत र क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट पाउनेछन्। त्यसैगरी, पान्स बाइक प्रा. लि. मा विद्युतीय तथा साधारण साइकल खरिदमा १० प्रतिशत छुट उपलब्ध हुनेछ।
बैंकले ग्राहकलाई थप सुविधा प्रदान गर्नुका साथै नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो सहकार्य गरेको जनाएको छ। डिजिटल बैंकिङ सेवाको प्रयोग विस्तार गर्न बैंकले समय–समयमा ग्राहककेन्द्रित सुविधा तथा सहुलियतका कार्यक्रम सञ्चालन गर्दै आएको छ। छुटसम्बन्धी विस्तृत विवरण बैंकको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिनेछ।
अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित बैंक अफ द इयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल सिटिजन्स बैंकले डिजिटल बैंकिङ सेवाको विस्तारमा समेत नवीन पहल गर्दै आएको छ। बैंकले नेपालमै पहिलोपटक फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको थियो।
यसैगरी, बैंकले युवा लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ। फ्रिलान्सरहरूलाई लक्षित गरी ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ पनि सुरु गरेको बैंकले जनाएको छ। मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन तथा सीआरएन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधासमेत बैंकले उपलब्ध गराउँदै आएको छ। साथै, क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने सुविधाले डिजिटल कारोबारलाई थप सहज बनाएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभरका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ७८ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।




प्रतिक्रिया