काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल सेवाबाट बर्खास्त भएका छन् । गृह मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरी दाहाललाई सशस्त्र प्रहरी सेवाबाट हटाउने विभागीय कारबाही गरेको हो ।
गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा दाहालले आचरणसम्बन्धी नियम बारम्बार उल्लङ्घन गरेको, अनुशासनहीन कार्य गरेको तथा नेपाल सरकार र आफू कार्यरत सङ्गठनको मानप्रतिष्ठा एवं छविमा आँच पुर्याउने काम गरेको उल्लेख छ ।
दाहाललाई भविष्यमा सरकारी सेवामा समेत अयोग्य हुने गरी बर्खास्त गर्न सिफारिस गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । यसअघि सूचना चुहावटको आरोपमा उनी असोज १९ गते निलम्बनमा परेका थिए । सशस्त्र प्रहरीका अर्का एआईजी अञ्जनीकुमार पोखरेलको नेतृत्वमा भएको छानबिनपछि उनलाई बर्खास्त गर्न सिफारिस गरिएको स्रोतको भनाइ छ ।
दाहालमाथि प्रधानमन्त्री तथा गृहमन्त्रीहरूको व्यक्तिगत समय र गतिविधिसम्बन्धी सूचना निगरानी तथा चुहावट गरेको आरोप लागेको थियो । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको मोबाइल फोनको प्राविधिक परीक्षणका क्रममा दाहालसँग सम्बन्धित सूचना फेला परेको सशस्त्र प्रहरी स्रोतले जनाएको थियो ।
दाहाल पूर्वप्रधानन्यायाधीश राणाका ज्वाइँ नाताका हुन् । असोज ११ गते राणा बाँसबारीस्थित निवासबाट पक्राउ परेपछि दाहाल उनलाई हिरासतमा भेट्न पुगेका थिए ।
विभिन्न मुद्दामा पक्राउ परी थुनामा रहेका व्यवसायी दीपक भट्टलाई छुटाउन राणाले चलखेल गरेको र उक्त प्रकरणमा दाहालको समेत भूमिका रहेको दाबी सशस्त्र प्रहरी स्रोतले गरेको थियो ।
यद्यपि, गृह मन्त्रालयको आधिकारिक विज्ञप्तिमा दाहाललाई बर्खास्त गर्नुको आधारका रूपमा आचरणसम्बन्धी नियमको उल्लङ्घन, अनुशासनहीनता र सङ्गठनको छविमा आँच पुर्याउने कार्यलाई उल्लेख गरिएको छ ।







प्रतिक्रिया