काठमाडौं । प्रस्तावित संघीय निजामती सेवा विधेयकमा ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पूरा भएका कर्मचारीलाई अनिवार्य अवकाश दिने व्यवस्था राखिएपछि संघीय संसद् सचिवालयका ७ कर्मचारीले राजीनामा दिएका छन्।
असोज १६ गतेयता राजीनामा दिनेमा प्राविधिक अधिकृत, शाखा अधिकृत, नायब सुब्बा, मुद्रण अधिकृत तथा कार्यालय सहयोगी रहेका छन्।
३४ वर्ष संसद् सचिवालयमा सेवा गरेका प्राविधिक अधिकृत सुदर्शन गौतमले पनि राजीनामा दिएका छन्। प्रचलित कानुनअनुसार उमेर हदका कारण अवकाश हुन अझै ६ वर्ष २ महिना बाँकी रहे पनि प्रस्तावित व्यवस्थाका कारण राजीनामा दिने निर्णय गरेको उनले बताएका छन्।
हाल संसद् सेवाका कर्मचारीका लागि छुट्टै ऐन, २०६४ लागू छ। प्रस्तावित विधेयकले संसद् सेवाका कर्मचारीलाई समेत समेट्ने व्यवस्था गरेपछि कर्मचारीहरूले राजीनामा दिएका हुन्। विधेयकको मस्यौदामा एकपटकका लागि ५८ वर्ष उमेरमा अवकाश दिने र त्यसपछि अनिवार्य अवकाशको उमेर हद ६० वर्ष कायम गर्ने प्रस्ताव गरिएको छ।







प्रतिक्रिया