काठमाडौं । बडादसैँलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला भएसँगै काठमाडौंका बसपार्कमा यात्रुको चाप बढ्न थालेको छ। गोंगबुस्थित नयाँ बसपार्कमा बिहानैदेखि यात्रुहरू टिकट काट्न लाइनमा बसेका छन्।
यातायात व्यवसायीका अनुसार यस वर्ष अघिल्लो वर्षको तुलनामा यात्रुको संख्या केही कम हुने अनुमान गरिएको छ। शुक्रबार कार्यालय खुल्ने दिन भएकाले यात्रुको चाप कम देखिएको र शनिबार तथा आइतबार भीड बढ्न सक्ने पश्चिम नेपाल बस व्यवसायी प्रालिका काठमाडौं शाखा इन्चार्ज डिल्लीराज भुसालले बताए।
यात्रुको सुविधाका लागि अनलाइन तथा बसपार्कबाट प्रत्यक्ष टिकट लिन सकिने व्यवस्था गरिएको छ। यात्रुको चापअनुसार थप बस सञ्चालन गर्ने तयारीसमेत गरिएको व्यवसायीले जनाएका छन्।
यसैगरी, दाङ जाने यात्रुका लागि टिकट व्यवस्थापन सहज बनाइएको यातायात व्यवसायीले बताएका छन्। यात्रुको व्यवस्थापनमा स्वयंसेवक परिचालन गरिएको र आवश्यकताअनुसार थप बस सञ्चालन गरिने जनाइएको छ। दसैँका लागि टिकट भाडा नबढाइएको व्यवसायीको दाबी छ।
यात्रुहरूले यसपटक टिकट पाउन विगतका वर्षको तुलनामा सहज भएको बताएका छन्। यद्यपि, लामो दूरीको बस भाडा महँगो भएको गुनासो गर्दै उनीहरूले दसैँका बेला यात्रुलाई राहत हुने गरी भाडादर समायोजन गर्न सरकारसँग माग गरेका छन्।







प्रतिक्रिया