ADVERTISEMENT

विप्रेषण रिपोर्टिङमा राष्ट्र बैंकको नयाँ व्यवस्था, दैनिक विवरण ३ दिनभित्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले विप्रेषण कारोबारको रिपोर्टिङ व्यवस्थालाई थप व्यवस्थित गर्दै नयाँ व्यवस्था लागू गर्ने भएको छ। नयाँ व्यवस्थाअनुसार विप्रेषण कम्पनी तथा विप्रेषण कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाले दैनिक कारोबारको विवरण कारोबार भएको तीन दिनभित्र र मासिक विवरण महिना सकिएको सात दिनभित्र राष्ट्र बैंकमा बुझाउनुपर्नेछ।

राष्ट्र बैंकको गैर–बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागले विप्रेषण विनियमावली, २०७९ को दोस्रो संशोधनसहितको विनियम ३३ बमोजिम विवरण पठाउने फारम तथा समयसीमा परिमार्जन गरेको हो। संशोधित व्यवस्था २०८३ कात्तिकदेखि लागू हुनेछ।

नयाँ व्यवस्थाअनुसार विप्रेषण कम्पनीले आफैं वा सबएजेन्ट तथा सबरिप्रिजेन्टेटिभमार्फत गरेको इनवर्ड विप्रेषण भुक्तानी, देशगत तथा कम्पनीगत कारोबारको मासिक विवरण नेपाली महिना सकिएको सात दिनभित्र एफएक्सओएल रिपोर्टिङ प्रणालीमार्फत बुझाउनुपर्नेछ। कारबाही गरिएका सबएजेन्ट तथा सबरिप्रिजेन्टेटिभको विवरणसमेत सोही समयसीमाभित्र पठाउनुपर्नेछ।

राष्ट्र बैंकले विदेशी साझेदारसँग रहेको मौज्दात र फेडान दरसम्बन्धी विवरण पनि मासिक रूपमा अनिवार्य गरेको छ। सञ्चालक समितिमा हेरफेर भएमा सात दिनभित्र जानकारी गराउनुपर्नेछ। अस्थायी वित्तीय विवरण त्रैमासिक अवधि सकिएको १५ दिनभित्र र वार्षिक वित्तीय विवरण आर्थिक वर्ष सकिएको १५ दिनभित्र बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले रिपोर्टिङ फारमसमेत परिमार्जन गरेको छ। विप्रेषण फारम नम्बर १ मा ‘भुक्तानीको माध्यम’ महल थप गरिएको छ भने एसओए–१ र एसओए–२ नयाँ फारम थपिएका छन्। फारम नम्बर ७ मा ‘एकाउन्ट्स पेयेबल’ सम्बन्धी विवरणको महलसमेत परिमार्जन गरिएको छ।

राष्ट्र बैंकले संशोधित फारम र ढाँचाअनुसार विवरण पठाउन सम्बन्धित विप्रेषण कम्पनी तथा बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। नयाँ व्यवस्थाले विप्रेषण कारोबारको नियमित रिपोर्टिङ तथा सुपरिवेक्षणलाई थप व्यवस्थित गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार