काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजारमा सामान्य गिरावट आएको छ। नेप्से परिसूचक ६ दशमलव ३८ अंकले घटेर २ हजार ५७२ दशमलव ३४ विन्दुमा झरेको छ।
बजार घटे पनि कारोबार रकम भने बढेको छ। बुधबार ३५९ कम्पनीको १ करोड ३ लाख कित्ता सेयर ३९ हजार ४६६ पटक कारोबार हुँदा कुल ३ अर्ब ७४ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। मंगलबार ३ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको थियो।
बुधबार १०० कम्पनीको सेयर मूल्य बढ्दा १६७ कम्पनीको घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रह्यो। १३ उपसमूहमध्ये बैंकिङ समूह ०.०८ प्रतिशतले बढेको छ भने बाँकी सबै समूह घटेका छन्। व्यापार समूह १.३८ प्रतिशतले घटेर सबैभन्दा कमजोर बनेको छ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर ३२ करोड २१ लाख रुपैयाँसहित शीर्ष स्थानमा रहेको छ। रिलायन्स स्पिनिङ मिल्सको २९ करोड ३६ लाख र पिपुल्स हाइड्रोपावरको १६ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
मूल्य बढ्नेमा घलेम्दी हाइड्रोपावर ६.२५ प्रतिशतले अगाडि रह्यो। एनआईसी एसिया ब्यालेन्स्ड फन्डको इकाई मूल्य ५.८३ प्रतिशत र इंगवा हाइड्रोपावरको सेयर मूल्य ४.८५ प्रतिशतले बढेको छ। यता, ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाई मूल्य ५.२६ प्रतिशतले घटेको छ।
बुधबार नेप्सेको वेबसाइटमा समेत केही समय प्राविधिक समस्या देखिँदा लगानीकर्ताले लाइभ बजार विवरण हेर्न कठिनाइ भएको थियो।





प्रतिक्रिया