ADVERTISEMENT

महँगो कर्जा र कमजोर लजिस्टिक्स निर्यातका मुख्य बाधक

काठमाडौँ । महँगो कर्जा, आयातित उत्पादन सामग्रीमा लाग्ने कर र कमजोर लजिस्टिक्स नेपालको निर्यातका प्रमुख अवरोध रहेको एक अध्ययनले देखाएको छ।

एसियाली विकास बैंक (एडीबी) र साउथ एशिया वाच अन ट्रेड, इकोनोमिक्स एण्ड इन्भाएरोमेन्ट (सावती)ले गरेको ‘नेपाल्स एक्सपोट्र्स अफ गुड्स एन्ड सर्भिसेसः कन्स्ट्रेन्ट्स एन्ड इनेबलर्स’ अध्ययनले निर्यातकर्ताले वित्तीय पहुँचलाई सबैभन्दा ठूलो चुनौतीका रूपमा लिएको देखाएको हो।

अध्ययनमा सहभागी करिब ८४ प्रतिशत फर्मले वित्तीय पहुँचलाई अवरोधका रूपमा उल्लेख गरेका छन् भने ५४ प्रतिशतले यसलाई ठूलो वा गम्भीर अवरोध मानेका छन्। ब्याजदर, ब्याजदरको परिवर्तनशीलता र कर्जा लिन आवश्यक धितो प्रमुख समस्या देखिएका छन्। साना तथा मझौला व्यवसाय यसबाट बढी प्रभावित भएको अध्ययनले जनाएको छ।

त्यस्तै, ४७ प्रतिशत फर्मले आयातित उत्पादन सामग्रीमा लाग्ने करलाई ठूलो वा गम्भीर अवरोधका रूपमा मूल्यांकन गरेका छन्। कमजोर लजिस्टिक्स, व्यापार पूर्वाधार, किफायती मूल्यमा जग्गाको अभाव तथा कच्चा पदार्थ आयातमा हुने कठिनाइ पनि निर्यातका प्रमुख समस्या रहेको अध्ययनमा उल्लेख छ।

एडीबीका नेपाल देशीय निर्देशक अर्नो काउश्वाले रेमिट्यान्स र निजी उपभोगमा आधारित नेपालको आर्थिक वृद्धि मोडललाई उत्पादकत्व, रोजगारी सिर्जना, निजी लगानी, प्रविधि र निर्यातमा आधारित मोडलमा रूपान्तरण गर्नुपर्ने बताए।

अध्ययनले जलवायु परिवर्तन, कमजोर सरकारी सहयोग, ई–कमर्सका अवरोध र नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नति भएपछि निर्यातमा पर्न सक्ने प्रभावबारे सीमित जानकारीलाई समेत चुनौतीका रूपमा औँल्याएको छ।

यद्यपि, भारतीय बजारमा भन्साररहित पहुँच, बढ्दो नेपाली डायस्पोरा, विदेशी खरिदकर्तामाझ नेपालको सकारात्मक छवि तथा डिजिटल मार्केटिङलाई निर्यात विस्तारका अवसरका रूपमा उल्लेख गरिएको छ।

आईटी निर्याततर्फ डिजिटल सेवाको विश्वव्यापी माग बढ्दै गए पनि साइबर सुरक्षा, तथ्यांक संरक्षण, बौद्धिक सम्पत्ति अधिकार, डिजिटल पूर्वाधार र दक्ष जनशक्तिको अभाव प्रमुख चुनौती रहेको अध्ययनले जनाएको छ। पर्यटनमा भने कमजोर पूर्वाधार, सीमित अन्तर्राष्ट्रिय हवाई सम्पर्क, लक्षित प्रवद्र्धनको कमी र दक्ष जनशक्तिको अभावलाई अवरोधका रूपमा देखाइएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार