रसुवागढी बाढीले व्यापार ठप्प, अर्बौंको क्षति


काठमाडौं । रसुवागढी–केरुङ क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोले करिब ७ अर्ब ७० करोड रुपैयाँ बराबरको प्रारम्भिक आर्थिक क्षति भएको व्यवसायीहरूले बताएका छन्।

नेपाल हिमालय सीमापार वाणिज्य संघका अनुसार बाढीमा करिब १,५०० जना जनशक्ति बेपत्ता भएका छन्। तीमध्ये करिब ८ सय जना ट्रक तथा कन्टेनर चालक र सहचालक रहेको बताइएको छ।

बाढीले सामानसहित २६० वटा तथा खाली २५० वटा गरी करिब ५१० ट्रक–कन्टेनर बगाएको छ। यस्तै, रसुवा भन्सार यार्डमा रहेका करिब ३ सय विद्युतीय सवारीसहित इलेक्ट्रोनिक्स, मोबाइल, तयारी पोशाक, जुत्ता, चाडपर्वका सामग्रीलगायत ठूलो परिमाणमा सामान क्षतिग्रस्त भएको छ।

चाडपर्व लक्षित आयात गरिएका सामानमध्ये करिब १८ करोड रुपैयाँ राजस्वसमेत व्यवसायीले बुझाइसकेका थिए। तर, सामान नेपाल भित्र्याउन नपाउँदै बाढीले बगाएको व्यवसायीहरूको भनाइ छ।

केरुङ नाका पूर्ण रूपमा ठप्प भएपछि सुरक्षित रहेका करिब १७६ कन्टेनरलाई चीनको स्वीकृतिमा मुस्ताङको कोरला नाका हुँदै नेपाल ल्याउन ‘रि–रुट’ गर्न थालिएको छ। तर, यसबाट ढुवानी लागत र समय बढ्ने तथा कतिपय सामानको उपभोक्ता मूल्य १५० देखि २५० प्रतिशतसम्म बढ्न सक्ने व्यवसायीहरूले बताएका छन्।

यता तातोपानी नाका पनि बाढीपहिरोका कारण बन्द छ। व्यवसायीहरूले केरुङमा रोकिएका सामान तातोपानी नाकाबाट ल्याउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्। रसुवा र तातोपानी दुवै नाका प्रभावित भएपछि नेपालको चीनसँगको व्यापारमा गम्भीर असर परेको छ।

 

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार