काठमाडौं । । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपाली सेनाले हवाई तथा जमिनी माध्यमबाट खोज तथा उद्धार कार्य तीव्र बनाएको छ। भदौ १६ गते बिहान ११ बजेसम्म सेनाले हवाई माध्यमबाट थप २३ जनाको उद्धार गरेको जनाएको छ।
बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका वा सम्पर्कविहीन हुनसक्ने व्यक्तिको खोजीका लागि नेपाली तथा विदेशी विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको छ। टोलीले चिलिमे हाइड्रोको सुरुङमा करिब ५० मिटर, लाङटाङ हाइड्रोमा १५० मिटर र अपर त्रिशूली–१ को सुरुङमा करिब २०० मिटरसम्म प्रवेश गरी खोजी गरिरहेको छ।
त्रिशूली–३ ए आयोजनामा टनेल हेड फेला परेको छ भने त्रिशूली–३ बी आयोजनामा सुरुङ प्रवेश गर्ने द्वार पत्ता लगाइएको छ। सुरुङभित्र हावा पठाउन कम्प्रेसर प्रयोग गर्नुका साथै जमेको पानी निकाल्ने र वैकल्पिक मार्ग खोल्ने काम भइरहेको सेनाले जनाएको छ।
बाढी आएको समयमा विभिन्न जलविद्युत् आयोजनाबाट २७९ जनाको जीवित उद्धार गरिएको थियो। हाल रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन हुँदै नवलपरासी पूर्वसम्म ९ हजार २ सयभन्दा बढी सैनिक खोज तथा उद्धार, सडक सञ्चालन, शव व्यवस्थापन र आपत्कालीन उपचारमा परिचालन भएका छन्।
बाढीपछि संक्रमणको जोखिम न्यूनीकरणका लागि धुन्चे, त्रिशूली, देवघाट, परासीलगायतका प्रभावित क्षेत्रमा डिसइन्फेक्सनको कामसमेत अघि बढाइएको सेनाले जनाएको छ।


