काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा क्यानडाले नेपालसामु २५७ रनको लक्ष्य प्रस्तुत गरेको छ। ओमानको अल अमिरात क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडा ५० ओभरमा २५६ रन बनाउँदै अलआउट भएको हो।
क्यानडाका ओपनर युवराज शर्माले उत्कृष्ट ब्याटिङ गर्दै शतक प्रहार गरेपछि टोलीले प्रतिस्पर्धात्मक योगफल खडा गरेको हो। उनले ११७ बलमा १०५ रन बनाए। यो युवराजको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शतक हो।
युवराजले एरोन जोन्सनसँग पहिलो विकेटका लागि ७२ रनको साझेदारी गर्दै क्यानडालाई बलियो सुरुवात दिलाएका थिए। उनको शतकीय प्रदर्शनले क्यानडालाई चुनौतीपूर्ण स्कोरसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्यो।
नेपालका लागि स्पिनर ललितनारायण राजवंशीले उत्कृष्ट बलिङ गरे। उनले १० ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए। कप्तान सन्दीप लामिछानेले पनि प्रभावशाली प्रदर्शन गर्दै १० ओभरमा ४९ रन दिएर ३ विकेट हात पारे।
नेपाली बलरले क्यानडालाई अलआउट गरे पनि अब २५७ रनको लक्ष्य पछ्याउँदै जित निकाल्ने चुनौती नेपालसामु छ।




प्रतिक्रिया