ADVERTISEMENT

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गर्न प्रहरीले लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टलाई पक्राउ गरेको छ।

काठमाडौं प्रहरी परिसर, भद्रकालीको टोलीले भट्टलाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेले पुष्टि गरेका छन्। उनका अनुसार भट्टमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।

प्रहरीको अनुसन्धान पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग जोडिएको घटनाक्रम हुँदै भट्टसम्म पुगेको हो। सुरक्षा प्रयोजनको कारण देखाउँदै जबरालाई प्रहरी कार्यालय ल्याएपछि सुरु भएको अनुसन्धानको दायरा ईनम सापकोटासम्म विस्तार भएको थियो। अनुसन्धानका क्रममा जबरा र भट्टबीच समेत कुराकानी भएको देखिएको प्रहरी स्रोतले जनाएको छ।

जेलमा रहेका दीपक भट्टलाई छुटाउन प्रयास भइरहेको र त्यसका लागि सुशील भट्टले सापकोटासँग कुराकानी गरेको हुन सक्ने प्रहरी अधिकारीहरूको आशंका छ। सापकोटाले जबरामार्फत दीपक भट्टलाई छुटाउने वातावरण बनाउन खोजेको हुन सक्ने विषयमा समेत प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रहरीले यी घटनाक्रमबीचको सम्बन्ध र सम्पत्ति शुद्धीकरणसम्बन्धी सम्भावित कसुरबारे अनुसन्धान अघि बढाएको छ। यद्यपि, अनुसन्धानबाट पुष्टि नभएसम्म पक्राउ परेका व्यक्तिमाथिका आरोपलाई प्रमाणित कसुरका रूपमा लिन मिल्दैन।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार