आङ्देम्बेद्वारा गेटअगाडि गाडी पार्किङ घटनाको विरोध
काठमाडौँ । प्रमुख विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विभिन्न सञ्चारगृह र कांग्रेस सभापति गगनकुमार थापाको घरअगाडि शंकास्पद रूपमा सवारीसाधन पार्क गरिएको घटनाप्रति आपत्ति जनाएका छन्। उनले लोकतन्त्रमा सरकारको शक्ति आलोचना सहने क्षमतामा रहेको उल्लेख गर्दै सञ्चारमाध्यम र प्रतिपक्षलाई दबाबमा पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताएका छन्।
आङ्देम्बेका अनुसार गेटअगाडि गाडी पार्किङ गर्नु बाटो छेक्ने मात्र नभई आलोचनात्मक आवाज दबाउने प्रयास हो। उनले सञ्चारमाध्यम र प्रतिपक्ष सरकारका शत्रु नभई जनताका पक्षमा काम गर्ने लोकतान्त्रिक संस्थाहरू भएको उल्लेख गर्दै जनताको आवाज कुनै पनि माध्यमबाट रोक्न नसकिने बताएका छन्।