बिहीबार बसेको मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय सार्वजनिक
काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षा, शिक्षा, सञ्चार, भूमि व्यवस्था र प्रशासनसँग सम्बन्धित विभिन्न महत्वपूर्ण निर्णय गरेको छ। बैठकले नेपाल प्रहरीका ८ एआईजीको सरुवा, विभिन्न निकायमा पदाधिकारी नियुक्ति तथा राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरको सामुद्रिक जैविक विविधता संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता अनुमोदनका लागि संसद्मा पेस गर्ने निर्णय गरेको छ।
सरकारले कमैया श्रम निषेधसम्बन्धी पहिलो संशोधन नियमावली, शिक्षा (दशौँ संशोधन) नियमावली, राष्ट्रिय सदाचार नीति र राष्ट्रिय विज्ञापन नीति–२०८३ पनि स्वीकृत गरेको छ। साथै, विद्यालयले वार्षिक भर्ना शुल्क लिन नपाइने व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने, त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गा खाली गराउने, एन्फामाथिको फिफा निलम्बन हटाउन पहल गर्ने तथा सुस्ताबासीलाई लालपुर्जा वितरणको प्रक्रिया अगाडि बढाइएको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।