काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा ८० वटा विद्युतीय उपकरणमार्फत मतदान गरिने भएको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार उम्मेदवारको अन्तिम सूची प्रकाशनपछि उपकरणमा नाम र तस्बिर समावेश गरेर मतदान गराइनेछ।
मध्याह्नदेखि मतदान सुरु गर्ने तयारी भइरहेको र नमुना मतदानका लागि पाँच वटा उपकरण प्रयोग गरिने जनाइएको छ। निर्वाचनमा ४०० भन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन्। पहिलो चरणमा ९९ केन्द्रीय सदस्यका लागि मतदान हुनेछ भने मतदान सम्पन्न भएको करिब दुई घण्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारी रहेको आयोगले जनाएको छ।