रास्वपा केन्द्रीय समिति निर्वाचन मतदान ढिलाइ हुने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बुधबार बिहान ९ बजेदेखि सुरु हुने भनिएको केन्द्रीय सदस्य निर्वाचन मतदान प्राविधिक कारणले ढिलाइ हुने भएको छ। ९९ केन्द्रीय सदस्य पदका लागि ४०० भन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन् भने करिब ४,५०० मतदाता छन्।

निर्वाचन आयोगले हालसम्म उम्मेदवारहरूको सर्ट लिस्ट तयार गर्न नसक्दा र खुला तथा समावेशी क्लस्टर मिलाएर भोटिङ मेसिनमा समायोजन गर्नुपर्ने भएकाले प्रक्रिया अघि बढ्न ढिलाइ भएको हो। आयोगका प्राविधिक नवराज पाण्डेका अनुसार एक जनाले मतदान गर्न कम्तीमा २० मिनेट लाग्ने अनुमान गरिएको छ।

सबै मतदाताले मतदान गरेमा प्रक्रिया १५ देखि २० घण्टासम्म चल्न सक्ने आयोगले जनाएको छ। मतदानका लागि ८० वटा ‘राम–लक्ष्मण’ भोटिङ मेसिन तयारी अवस्थामा राखिएको छ। प्रवासमा रहेका सदस्यहरूले भने एपमार्फत मतदान गर्ने व्यवस्था गरिएको छ।

यसअघि नै सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् भने पहिलो चरणको मतदानपछि अन्य पदाधिकारी चयन प्रक्रिया अघि बढ्नेछ।

२०८३ असार १०, बुधबार १०:१७ प्रकाशित
ट्रेन्डिङ समाचार