एमालेको विश्लेषण: रास्वपाको उदय ‘आकस्मिक’, २०८२ को हारलाई अस्वाभाविक
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आम निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी को उदयलाई ‘आकस्मिक र अस्वाभाविक’ भन्दै यसलाई देशको अस्थिर राजनीतिक अवस्था र भूराजनीतिक चलखेलको परिणामका रूपमा व्याख्या गरेको छ। पार्टीको ‘मिसन पार्टी जागरण २०८३’ सम्बन्धी आन्तरिक दस्ताबेजमा २०७४ पछि बनेको नेकपाको विघटन र एमाले विभाजनका कारण जनमत वैकल्पिक शक्तितर्फ मोडिएको उल्लेख छ।
एमालेले २०८२ सालको आम निर्वाचन परिणामलाई ‘अप्रत्याशित र अस्वाभाविक हार’ भन्दै सरकारको कामबारे सही सूचना प्रवाह नहुनु र पार्टीविरुद्ध फैलाइएका भ्रम समयमै खण्डन गर्न नसक्नु मुख्य कारण भएको स्वीकार गरेको छ। दस्ताबेजमा कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय सार्वभौमिकतासमेत चुनौतीमा परेको उल्लेख गरिएको छ।
यस्तै, विद्यमान चुनौती सामना गर्न एमालेले ‘मिसन पार्टी जागरण २०८३’ अभियान अघि सारेको छ, जसको उद्देश्य कार्यकर्ताको मनोबल बढाउने र जनतासँग टुटेको सम्बन्ध पुनःस्थापना गर्ने रहेको छ। पार्टीले ‘६ज’ नीति अन्तर्गत जनतासँग जोडिने, जनसङ्गठन परिचालन गर्ने र जनमत सर्वेक्षणका आधारमा नेतृत्व विकास गर्ने योजना समेत अघि सारेको छ।