काठमाडौं । बीवाईडी गाडी खरिद प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीले छुट्टै छानबिन समिति गठन गर्न माग गरेका छन्।
बिहीबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले संसदीय छानबिन समिति वा सार्वजनिक लेखा समिति अन्तर्गत उपसमिति गठन गरी घटनाको निष्पक्ष अनुसन्धान गर्नुपर्ने बताइन्।
श्रम संस्कृति पार्टीका सांसद आरेन राईले पनि मन्त्रालयमार्फत नभई सार्वजनिक लेखा समितिको मातहतमा छानबिन हुनुपर्ने धारणा राखे। उनले प्रकरणमा अर्बौं रुपैयाँ भ्रष्टाचार भएको भन्ने आरोपबारे सत्यतथ्य सार्वजनिक गर्न आवश्यक रहेको बताए।
नेकपाका सांसद महेन्द्रबहादुर शाहीले समेत विषयको गम्भीर छानबिन गरी तथ्यका आधारमा अघि बढ्नुपर्ने माग गरेका छन्। सांसदहरूले जनतामा अन्योल कायम हुन नदिन आरोप सत्य वा असत्य जे भए पनि स्पष्ट निष्कर्ष सार्वजनिक गर्नुपर्ने बताएका छन्।