काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालको अर्थतन्त्र बाह्य रूपमा स्थिर देखिए पनि दीर्घकालीन रूपमा दिगोपन, उत्पादनशीलता वृद्धि र संरचनागत रूपान्तरणका चुनौती कायम रहेको जनाएको छ। निर्देशक डा. राजनकृष्ण पन्तद्वारा तयार गरिएको अध्ययनले अर्थतन्त्र रेमिट्यान्स, आयात र उपभोगमा अत्यधिक निर्भर बनेको औंल्याएको छ।
अध्ययनअनुसार आर्थिक वृद्धिको आधार उत्पादनभन्दा रेमिट्यान्सबाट सञ्चालित उपभोग बनेको छ भने उद्योग, निर्यात र उत्पादकत्व कमजोर अवस्थामा छन्। बैंकिङ क्षेत्रले उल्लेखनीय प्रगति गरे पनि निष्क्रिय कर्जा वृद्धि, कमजोर कर्जा माग र वित्तीय जोखिम चुनौतीका रूपमा देखिएका छन्।
राष्ट्र बैंकले दिगो आर्थिक विकासका लागि उत्पादनशील लगानी, औद्योगिकीकरण, निर्यात विस्तार, प्रविधि उपयोग र वित्तीय क्षेत्र सुधारमा केन्द्रित नीतिगत परिवर्तन आवश्यक रहेको निष्कर्ष निकालेको छ।


